पारीगाउँमा न्यानो कपडा वितरण

सिन्धुपाल्चोक । जुगल हिमालमुन्तिरको विकट गाउँ गुम्बाका बासिन्दालाई मंगलबार न्यानो कपडा वितरण गरिएको छ। पारिगाउँ भनिने गुम्बा गाविसका बासिन्दालाई वर्ल्ड भिजनको सहयोगमा जनहित ग्रामीण सेवा समितिले न्यानो कपडा वितरण गरेको हो।

न्यानो कपडा बाँड्‌ने थाहा पाएपछि बिहानभर हिँडेर गुम्बा गाउँ आएको कान्छीमाया तामाङले बताइन् । कपडाको पोको पाएपछि खुसी हुँदै उनले भनिन्, ‘अब माघको जाडोबाट बालबच्चालाई बचाउन सकिने भइयो ।’ जोडोमा न्यानो कपडा पाएपछि गाउँका सबै दंग छन् ।

जिल्ला प्रशासन, जिविस र जिल्ला शिक्षा कार्यालय प्रतिनिधिको रोहबरमा समितिले न्यानो कपडा बाँडिएको थियो। गुम्बा गाविसको नौवटै वडामा पुगेर सबै भूकम्पपीडितलाई न्यानो कपडा दिने लक्ष्य रहेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए । सोमबारदेखि न्यानो कपडा बाँड्न सुरु गरिएको उनले जनाए ।

हिमालमुनिका सबै गाउँमा कपडा वितरण गर्ने जनहितको योजना छ । गुम्बामा आठ सय ७५ घरधुरी छन् । एक घरपरिवारलाई १० हजार चार सय ३६ रुपैयाँबराबरको न्यानो कपडा दिइएको छ । समितिले प्रत्येक घरधुरीलाई ब्ल्या‌ङ्केट-२, डस्ना-१, सानो-ठूलो ज्याकेट-५, पछ्‌यौरा-१, टोपी-२ र मोजा-२ समावेश गरिएको प्याकेट दिएको थियो । माघको जाडोमा न्यानो कपडा पाएकोमा गुम्बावासी खुसी भएको स्थानीय पदमबहादुर श्रेष्ठले बताए ।

Projects